नियम २९
सेवा शुल्क बुझाउनु पर्ने
(१) सेवा उपभोग गर्ने उपभोक्ताले यस नियमावली बमोजिम बुझाउनु पर्ने सेवा शुल्क उपभोक्ता संस्था वा त्यस्तो सेवा शुल्क उठाउन अधिकार प्राप्त व्यक्ति वा संस्थालाई बुझाई रसिद समेत लिनु पर्नेछ ।
(२) संयुक्त व्यवस्थापनमा संचालित सिंचाइ प्रणालीमा सेवा शुल्क उठाउने दायित्व उपभोक्ता संस्थाको हुनेछ । उपभोक्ता संस्थाले नेपाल सरकारले घोषित गरेको सिंचित क्षेत्रमा सेवा उपभोग नभएको अवस्थामा पनि नियम २६ बमोजिमको समितिले निर्धारण गरिदिए अनुरुपको
न्यूनतम सेवा शुल्क प्रत्येक उपभोक्ताबाट उठाउनु पर्नेछ । (३) उपनियम (२) बमोजिम उपभोक्ताबाट उठाएको रकममध्येबाट उपभोक्ता संस्थाले अनुसूची–३ को तालीका बमोजिम आफूले पाउने अंश आफ्नो खातामा जम्मा गरी बाँकि रकम केन्द्रीय मर्मत सम्भार कोष र राजस्वमा बुझाई सोको निस्सा सम्बन्धित सिंचाइ कार्यालयमा बुझाउनु पर्नेछ ।
(४) नेपाल सरकारले उपनियम (३) बमोजिम केन्द्रीय मर्मत सम्भार कोष र राजस्वमा रकम जम्मा नभएका सिंचाइ प्रणालीमा थप लगानी गर्ने छैन ।